त्रिशूली जलविद्युत कम्पनीको शेयर बापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारको आवेदन


६ कार्तिक २०७९, आईतवार
trisuli jalabidhyut

काठमाडौं । त्रिशूली जलविद्युत कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको शेयर बापतको बाँकी रकम चुक्ता गर्न झण्डै ७८ हजार शेयरधनीले आवेदन दिएका छन् । कम्पनीले शेयर बापतको रकम बुझाउन गत ४ असोजबाट आवेदन माग गरेको थियो ।

कम्पनीको सेयर बाँडफाँडमा शेयर पाई प्रतिकित्ता १० रूपैयाँ बुझाएका जम्मा एक लाख ५४ हजार पाँच सय ५९ जना सर्वसाधारण शेयरधनीमध्ये झण्डै ७८ हजारले प्रतिकित्ता बाँकी ९० रूपैयाँ बुझाएका हुन् । यसबाट १६ करोड १० लाख रूपैयाँ संकलन भएको छ ।

साबिकका सर्वसाधारण शेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रूपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रूपैयाँ संकलन गरिने छ । आगामी १७ कात्तिक आवेदन दिने अन्तिम दिन हो । कम्पनीका प्रबन्ध–सञ्चालक मोहनप्रसाद गौतमले अन्तिमअगावै आवेदन दिन शेयर धनीहरूलाई आग्रह गरे ।

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत कम्पनीले २०७५ चैतमा सर्वसाधारणका लागि ३७ लाख पाँच हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) शेयर निष्काशन गरी प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । कम्पनीको शेयर बाँडफाँडमा शेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा एक लाख ५४ हजार पाँच सय ५९ जना सर्वसाधारण शेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनुपर्ने छ ।

रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा वार्षिक ८ प्रतिशत व्याज दिनुपर्ने प्रावधानबमोजिम शेयरधनीले प्रतिकित्ता तीन रुपैयाँ व्याज प्राप्त गर्ने हुँदा हाल प्रति कित्ता ८७ रुपैयाँ मात्र जम्मा गरे हुनेछ ।

आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सिडिएस एन्ड क्लिरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो शेयर’ सफ्टवेयरबाट समेत शेयर धनीहरूले रकम बुझाउन-आवेदन दिन सक्नेछन् । शेयर धनीहरूले यसरी रकम भुक्तानी गर्दा आश्वा शुल्क समेत तिर्नुपर्ने छैन । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

कम्पनीले रसुवा र नुवाकोटमा ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको ३०-३० प्रतिशत संस्थापक शेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत शेयर रहने छ ।

आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको व्याज बाहेक सात अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ । निर्माण अवधिको ब्याज ७८ करोड १७ लाख ९३ हजारसहित आयोजनाको कुल लागत आठ अर्व २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको । निर्माण अवधिको ब्याज बाहेकको आयोजनाको अनुमानित निर्माण लागत सात अर्ब ४४ करोड रुपैयाँमध्ये ३० प्रतिशत इक्विटी (दुई अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (पाँच अर्ब ७६ करोड) बाट लगानी जुटाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७