मेयर साम्पाङसँग कड्किए उपमेयर बेघा : जसले बोक्यो उसकै टाउकोमा दिसा–पिसाव नगर्नुस्


२९ पुष २०८०, आईतवार
hk

सुनसरी । धरान उपमहानगरपालिकको कार्यपालिका बैठकमा मेयर र उपमेयरबीच चर्काचर्की परेको छ । मेयर हर्क साम्पाङ्गले उपमेयर आइन्द्रविक्रम बेघाका विषयमा बोलिएको भिडियो सामाजिक सञ्जालमा शेयर गरेको विषयमा वादविवाद भएको हो ।

विगतका बैठकहरुमा शान्त देखिने धरानका उपमेयर बेघा कार्यपालिका बैठकमा भने जङ्गिदै प्रस्तुत भए । कार्यपालिका बैठकमा बेघाले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको प्रसङ्ग निकाल्दै फेसबुकमा मेयर साम्पाङले शेयर गरेको उक्त भिडिओबारे कुरा उठाए ।

बेघाले आफूले विगत १८ महिनादेखि मेयर राईलाई निरन्तर साथ दिएको तर अहिले मेयर राईले घाँटी अठ्याएको आरोप लगाए । उनले आफूले मेयर राईलाई असहयोग गरेको भन्ने आरोपको पुष्टि गर्न आग्रह गरे । आफूलाई विषालुको संज्ञा दिएको उक्त सामाग्रीलाई लिएर बेघाले आक्रोश पोख्दै आपत्ति जनाएपछि बैठक हलमै तनाव भएको हो ।

‘तपाईले खेलाँची गरेको हो ? किन त्यो कन्टेन्ट शेयर गर्नुभयो ?’ उपमेयर बेघाले आक्रोशित बन्दै भने, ‘तपाईंलाई आँखा चिम्लेर काँधमा बोकेर हिँडेको हो, तर जसले बोक्छ उसको टाउकोमा दिसा पिसाब गर्दै नहिड्नुस् ।’ उनले आफू पनि जनताको म्यान्डेट पाएर आएको बताए ।‘मलाई उपमेयर तपाईले बनाएको हो ? कानुनबाहिरको तपाईँको आदेश मान्दिनँ’, उनले भने । उपमेयर बेघाले आफूबारेको विवादित स्टाटस हटाउन र असहयोग गरेको पुष्टि गर्न बारम्बार चुनौती दिए ।

जवाफमा मेयर साम्पाङले बोलिसकेको कुरा फिर्ता नहुने बताएका थिए । आफूले भिडिओ सेयर गर्नुको कारण पनि सुनाए । मेयरले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको विषयमा उपमहानगरपालिकाको लेटरप्याड प्रयोग गरेर बेघाले क्षमा मागेका थिए । मेयर राईले बेघाको यस्तो कार्यले असहयोग भएको आरोप लगाए । ‘माफी माग्नुपर्‍यो भने मैले माग्ने हो, तपाईंले त्यसरी माग्ने होइन,’ मेयर साम्पाङले बैठकमा भने । बेघाले १८ महिनायता आफूले गरेको असहयोगबारे पुष्टि गर्न चुनौती दिँदै त्यो पुष्टि गर्न नसकेपछि अब अवरोध थाल्ने बताए ।

तर उता मेयर साम्पाङले बोलिसकेको कुरा नफर्किने बताउँदै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएकोबारे उपमेयर बेघाले उपमहानगरको लेटरप्याड प्रयोग गरेर असहयोग गरेको बताए । उपमेयर बेघाले आफूलाई त्यही कुरामा पनि असहयोग गरेको उनले बताए । मेयर साम्पाङ र उपमेयर बेघाबीच बैठक हलमै चर्काचर्की भएपछि वडाअध्यक्षहरूले बोल्ने समय मागे ।

वडाअध्यक्षहरूले कार्यपालिका बैठकमै झगडा र विवादले धरानको बेइज्जत भएको गुनासो गरे । कार्यपालिका बैठकको झगडा र विवादले धरानको बेइज्जत भइरहेको वडाध्यक्षहरूले बताए । उनीहरुले मेयर–उपमेयरसँगै कार्यपालिकाका सबैजना मिलेर अघि बढ्न र अभिभावकीय भूमिका खेल्न भने । केही महिना अघिसम्म मेयर र वडाध्यक्षहरूबीच चर्काचर्की हुँदा उपमेयर बेघाले मिल्न आग्रह गर्थे । तर आइतबारको कार्यपालिकामा भने वडाध्यक्षहरूले मेयर र उपमेयरलाई मिलेर अघि बढ्न सुझाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७