यो समीकरणले जनतामा आशा नजगाए देश अप्ठ्यारोतिर जान्छ : प्रधानमन्त्री

‘नयाँ समीकरण मेरो प्रधानमन्त्री पदका कारण बनेको होइन’


६ चैत्र २०८०, मंगलवार
Prachanda kp madhav
फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत फागुन २१ गते बनेको पाँच दलीय नयाँ समीकरणले पनि जनतामा आशा र भरोसा जगाउन नसके देश अप्ठ्यारोमा जाने बताएका छन् । पाँच दलीय गठबन्धन सरकारको ‘न्यूनतम् नीतिगत प्राथमिकता र साझा संकल्प’ आज (मंगलबार) सार्वजनिक गर्न सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘साझा संकल्प भनेर हामीले ल्याएको यो तेस्रो पटक हो । तेस्रो पटकसम्म आउँदा विगतका सबै अनुभवलाई पनि अधिकतम् संश्लेषित गरेर सिक्ने काम भएको छ’, उनले भने, ‘जनतामा अहिले एउटा नयाँ आशा र भरोस जगाउने उद्धेश्यसहित राष्ट्रको वृहत्तर हितलाई केन्द्रमा राखेर नयाँ समीकरण आएको छ ।’ उनले कार्यक्रम र नीति भाषामा कति उत्कृष्ट बनायौँ भन्दा जनतालाई डेलिभरी दिनुपर्ने बताए ।

‘भाषामा कार्यक्रम कस्तो बनायौँ भन्दा ठूलो कुरा जनतालाई डेलिभरी दिने गरी कति जिम्मेवारी र गम्भीरतापूर्वक अघि बढ्छौँ भन्ने मुख्य हो’, उनले भने, ‘हामीले काम गर्न सके मात्रै यो समीकरण र साझा संकल्पको पुष्टि गर्नेछ ।’ प्रचण्डले जनतामा आशा र भरोसा जगाउन नसके देश अप्ठ्यारोमा पर्ने दोहो¥याए । ‘जनतामा आशा र भरोसा जगाउने बाहेक हामीसँग अर्को विकल्प छैन’, उनले भने, ‘यो समीकरणबाट पनि जनतामा आशा जगाउन नसकिन, विकास र समृद्धि अघि बढाउन नसकिए देश अप्ठ्यारोमा जाने अवस्था छ ।’ पछिल्लो समय समाजमा अराजकता फैल्याउने काम भइरहेको पनि बताए । अब त्यस्ता गतिविधिलाई नियन्त्रणमा लिने पनि उनले उल्लेख गरे ।

‘संविधान र नियम कानुन हातमा लिएर हिँड्नेलाई अब हामी नियन्त्रणमा लिन्छौँ’, उनले भने, ‘जे मन लाग्यो त्यही बोल्दै हिँड्नेलाई नियन्त्रणमा लिन्छौँ, त्यसमा केही संकेत देखिएका छन् ।’ दाहालले भ्रष्टाचार र बेथितिमा संलग्नता देखिएमा जोसुकैलाई पनि सरकारले कारबाही गर्ने बताए । ‘मैले प्रधानमन्त्री भएदेखि नै सुशासन सामाजिक न्याय र समृद्धिको पक्षमा काम थालिएको थियो’, उनले भने, ‘त्यसमा मद्दत गर्नेहरूलाई मैले धन्यवाद दिएको छु । तर पछि शिथिलता देखिएपछि नयाँ समीकरण बनाएर मात्रै सुशासन, समृद्धि र विकासको पक्षमा जनतामा भरोसा देखाउन सकिन्छ भन्ने भयो ।’

प्रधानमन्त्री ‘प्रचण्ड’ले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदको कारणले नबनेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री प्रचण्डले समृद्धिको यात्रामा जानुपर्छ भन्ने उद्देश्यका साथ नयाँ समीकरण बनेको स्पष्ट पारेका हुन् । ‘जनतामा सुशासन र समृद्धिको आकांक्षालाई अझ तीव्रताका साथ एवं अझ गुणात्मक तवरले सम्बोधन गर्ने ऐतिहासिक आवश्यकतासँग यो समीकरण बनेको छ,’ प्रधानमन्त्रीले भने, ‘नयाँ काम सुरु भएका छन्, जनताको आवाज सम्बोधन गर्नेगरी काम गर्नुपर्छ ।’

उनले जनतामा नयाँ आशा जगाउने र राष्ट्रको बृहत्तर हितलाई केन्द्रमा राखेर नयाँ समीकरण बनेको स्पष्ट पारे । प्रधानमन्त्री प्रचण्डले सबै मन्त्री, सचिव एवं कर्मचारीलाई पछिल्लो परिस्थितिअनुसार काम गर्न दिर्नेशन दिए । ‘जनतामा नयाँ आशा र भरोसा जगाउने कुराको कुनै विकल्प छैन’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यो संकल्प र समीकरणबाट पनि जनतामा डेलिभर भएन, जनतामा आशा जगाउन सकिएन र विकासमा गति दिन सकिएन भने देश अप्ठ्यारोमा जाने खतरा छ, जनताका पक्षमा काम गर्नुहोला ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७