रविकाे आलोचनाबारे रास्वपाले माग्यो लिखित जवाफ, रमेश खरेलले दिए अंग्रेजीमा राजीनामा


१४ चैत्र २०८०, बुधबार
Rabi lamichhane ramesh kharel
फाइल फोटो

काठमाडौँ । पूर्व डीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिएका छन् । पार्टी सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिएको विषयमा रास्वपाको अनुशासन आयोगले उनलाई लिखित जवाफ मागेको थियो । खरेलले जवाफको साटो राजीनामा पत्र केन्द्रीय कार्यालयमा पठाएको स्रोतले जानकारी दिएको छ ।

उनले अङ्ग्रेजी भाषामा लेखेको राजीनामा पत्र महामन्त्री डा. मुकुल ढकालको टेबलमा पुगेको छ । पार्टी केन्द्रीय कार्यालयलाई सम्बोधन गरिएको पत्रमा खरेलले लेखेका छन्, ‘सचेत रूपमा विचार र समीक्षा गरेपछि म यो निर्णयमा पुगें कि मैले पार्टीबाट अब आफ्नो बाटो अलग गर्नुपर्छ ।’ खरेलले आफूलाई रास्वपाले उपलब्ध गराएको अवसर र अनुभवप्रति आभार प्रकट गरेका छन् ।

पछिल्लो विकासक्रम, आफ्नो व्यक्तिगत आस्था र प्राथमिकतामा आएको परिवर्तनले गर्दा पार्टीको सिद्धान्त र लक्ष्यसँग तादाम्यता मिल्न नसकेको उनले बताएका छन् । खरेल अहिले स्पेस फोके टेलिभिजनमा ‘जनता जनार्दन’ नामक कार्यक्रम चलाउँछन् ।

भर्खरैको श्रृंखलामा उनले स्वार्थको द्वन्द्व उत्पन्न हुने गरी रवि लामिछाने गृहमन्त्री बनेको भन्दै खरो आलोचना गरेका थिए । यही विषयमा स्पष्ट पार्न रास्वपाको अनुशासन समितिले उनलाई लिखित जवाफ मागेको थियो । रमेश खरेल रास्वपाको साधारण सदस्यको हैसियतमा मात्र थिए । बाराको उपचुनावमा रास्वपाबाट उम्मेदवारी दिएर पराजित भएपछि उनी पार्टीमा निष्क्रिय बनेका हुन् । उनले केन्द्रीय सदस्य बन्ने प्रस्ताव अस्वीकार गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७