रौतहटमा सवारी दुर्घटना बढ्दै, ट्राफिक राजस्व असुलीमा सीमित


१५ चैत्र २०८०, बिहीबार
trafic check
फाइल फोटो

रौतहट । रौतहट जिल्लामा ट्राफिक व्यवस्था अवस्थित भएका कारण दिन प्रतिदिन घटना दुर्घटना बढ्दै गएको छ । तर जिल्लाका ट्राफिक प्रहरीले राजस्व उठाउनमा सीमित रहेको देखिएको छ । आर्थिक वर्ष २०८० /०८१ मा मंसिर महिनासम्म ३०२ वटा सवारी दुर्घटना हुँदा २६ जना ज्यान गुमाएका छन् भने ४७२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गौर रौतहटको तथ्याङ्क रहेको छ । पुस महिना मात्र ४९ वटा सवारी दुर्घटना हुदा ८ जनाको ज्यान गएका छन भने ७० जना घाइते भएका छन् ।

जिल्लाको सदरमुकाम गौर, गरुडा, मौलापुर बंकुल, बमनहर, सुकदेव चौक, शिवनगर, कटहरिया, पिपरा चन्द्रपुर लगायतका ठूला बडा बजारमा अव्यवस्थित पार्किङ, विना सवारी चालक अनुमतिपत्रको ई रिक्सा, टेम्पुलगायत ट्राफिक प्रहरीको सेटिङ्गमा चलिरहेको छ । तर विभिन्न पर्वको मौका छोपी ट्राफिक प्रहरीले मोटरसाइकललगायतका सवारी समाति कारवाही गरी राजस्व उठाउनमा केन्द्रित रहेको देखिएको छ ।

गौर–चपुर सडक खण्ड, गौर–गंगा–पिपरा सडक खण्ड, बमनहर–वीरगञ्ज सडक खण्डमा फितलो ट्राफिक व्यवस्थाका कारण घटना दुर्घटना भईरहनछ । प्रहरीको नियम अनुसार कहिले पनि नियमित चेकजाँच, सवारी चलाउन जनचेतनामुलक कार्यक्रम रौतहटमा कहिले पनि नदेखिएको तर एक्कासी राजस्व संकलनका लागि प्रहरीले पर्वहरुको मुखमा मात्र चेकजाँच गरी सवारी पक्राउ गरी कारवाही गरेको जनगुनासो रहेको छ ।

भर्खरैको होली पर्वको अवसरमा जिल्ला प्रहरी कार्यालय गौरको गेट अगाडि नै भारतीय नम्बरको सवारीले दुर्घटना घटाउँछन् भन्दै सवारीहरु समाति कारवाही गरेको थियो । कागजपत्र हुँदाहुँदै पनि पर्वमा घर आएका नेपाली भाषा नबुझने, बोल्न नसक्ने परदेशीहरुलाई धम्क्याएर सवारी समाति कारवाही गरिएको आरोप स्थानीयले लगाएका छन् । तर पर्व समाप्त हुने वितिकै ट्राफिक प्रहरीको कुनै अतोपतो नदेखिएको स्थानीयको आरोप छ ।

नेपाल सरकारले सार्वजनिक गरेको राजस्व प्रगति विवरणका अनुसार ४३ प्रतिशत राजस्व कम संकलन भएको तथ्याङ सार्वजनिक भए लगतै राजस्व संकलनमा ट्राफिक प्रहरी केन्द्रित बनेको स्रोतले जनाएको छ । सवारी चलाउने जनचेतनामुलक कुनै किसिमको प्रचार प्रसार नदेखाएका कारण दुर्घटना बढेको स्थानीय नागरिकको बुझाई छ ।

सवारीको कागजपत्र खोसी बेलुका आउन भनेर पठाई दिने र बेलुका आउँदा कागजपत्र फेला नपरेको भन्दै चलान काटीदिने गरेको पीडितहरुले बताएका छन् । प्रहरी बरिष्ठ नायब निरीक्षक कमल नेपालीको मातहतका ट्राफिक प्रहरीहरुले आम जनतालाई साह्रै दुःख दिइरहेको पीडितको आरोप छ । ‘सानालाई ऐन र ठूलालाई चैन’ उखान जस्तै नेताको पावर, पहुँच र चिनजान भएका व्यक्तिलाई कुनै किसिमको रोकतोक नरहेको स्थानीय बताउँछन् । –न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७