फिल्म ‘टाइटानिक’ मा हिरोइन बचाउने ढोकाको लिलामी, करोडौंमा बिक्यो


१५ चैत्र २०८०, बिहीबार
Titanic 1.jpg

काठमाडौँ । हलिउड निर्देशक जेम्स क्यामरुनको फिल्म ‘टाइटानिक’ रिलिज भएको २६ वर्षपछि पनि यस फिल्मबारे अहिले पनि विभिन्न कोणबाट चर्चा हुने गर्दछ । सन् १९९७ मा रिलिज भएको यस फिल्ममा लियोनार्डो डिक्याप्रियोले ज्याक डसनको मुख्य भूमिका निभाएका थिए भने केट विन्सलेटले रोज डासनको मुख्य भूमिका निभाएका थिए ।

हालै फिल्ममा प्रयोग गरिएका ढोकाहरूको लिलामी गरिएको छ । फिल्मको क्लाइमेक्स सिनमा रोजले टाइटानिक डुबेपछि काठको ढोकाको सहायताले आफ्नो जीवन बचाउँछिन् । हालै फिल्ममा प्रयोग गरिएको सोही ढोका लिलामीमा ७ लाख १८ हजार ७५० डलरमा बिक्री भएको थियो ।

हलिउड रिपोर्टरका अनुसार, लिलामीको समयमा धेरै फ्यानहरूले यो केवल काठको प्यानल ढोका भएको र फिल्म निर्माणका लागि बनाइएको सोचेका थिए । यद्यपि, हेरिटेज अक्सन ट्रेजर्सले यो ढोका वास्तविक टाइटानिकको प्रथम श्रेणीको लाउन्ज प्रवेश द्वारको माथि अवस्थित रहेको जानकारी दिएको छ ।

यसबाहेक फिल्ममा रोजको भूमिका निभाएकी अभिनेत्री केट विन्सलेटले लगाएको शिफन पोशाक पनि लिलामी गरिएको छ । यो एक लाख २५ हजार डलरमा बिक्री गरिएको छ । हेरिटेज अक्सनले टाइटानिक फिल्मका यी सामाग्रीको अक्सनबाट कुल ८ लाख ४३ हजार ७५० डलर संकलन गरेको बताएको छ । अर्थात टाइटानिकमा प्रयोग भएको ढोका र अभिनेत्री केटको ड्रेसलाई नेपाली रुपैयाँ ११ करोड २५ लाख ३४ हजार ८१८ मा बिक्री गरिएको छ । सन् १९९८ को ओस्कार अवार्डमा ‘टाइटानिक’ ले १४ वटा मनोनयनमध्ये ११ अवार्ड जितेको थियो । यो जेम्स क्यामरुनको ‘अवतार’, ’अवतारः द वे अफ वाटर’ र ‘एभेन्जर्सः एन्डगेम’ पछि विश्वमा चौथो सबैभन्दा धेरै कमाउने फिल्म हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७