युवा संगठनको अबको मुलबाटो

 

युवा संगठन

नेपाल कम्युनिष्ट पार्टी माक्र्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्तको रुपमा अंगिकार गरेको पार्टी हो । नेपाल कम्युनिष्ट पार्टी नेताहरुको मात्र पार्टी नभई जनआधारित कार्यकर्ता पार्टी हो । यो पार्टी राजकीय वा सैनिक पार्टी नभई राजनीतिक पार्टी हो । नेपाल कम्युनिष्ट पार्टी देशको संविधानभन्दा माथि नभई संविधानको सर्वोच्चता मान्ने पार्टी हो । नेपाल कम्युनिष्ट पार्टी एकचोटी जनताबाट निर्वाचित भइसकेपश्चात सदाकालको लागि सत्तामा टाँसिरहने पार्टी होइन । यो पार्टी त बरु आफ्ना हरेक गतिविधि र कामहरुलाई जनताको बीचमा बारबार जाँच गर्न चाहन्छ । प्रतिष्पर्धासहितको आवधिक निर्वाचनमा पुनः अनुमोदित हुने प्रक्रियामा सामेल भएर श्रेष्ठ हुने विधिलाई कम्युनिष्ट पार्टीले अंगिकार गरेको छ ।

तसर्थ यो पार्टी एउटा गतिशिल पार्टी हो । पार्टीको जीवनलाई प्रभावकारी ढङ्गले गतिशिल, जुझारु र जनप्रेमी बनाउन उसका जनसंगठनले अति नै महत्वपूर्ण योगदान र भूमिका निर्वाह गरेका हुन्छन् । यसरी भूमिका निर्वाह गर्नेमध्येको श्रेष्ठ संगठनको नाम हो–युवा संघ नेपाल । पार्टीले लिएका लक्ष्य, उद्देश्य र कार्यक्रमलाई सफलीभूत बनाउनु र कार्यान्वयनका लागि विशेष योजना बनाउनु युवा संघको कतव्र्य नै हो । नेपाली समाजको तत्कालीन कार्यभार ‘यात्रा समृद्धिको र लक्ष्य समाजवादको’ हुन पुगेको छ । सो लक्ष्य भेदन गर्न युवा संघ नेपालले योजनावद्ध तवरले लाग्नै पर्ने भएको छ । जसको लागि सहकारी र उद्यमशिलताको अभियान हाम्रो महत्वपूर्ण अभियान बन्ने छ ।

हामी कम्युनिष्ट पार्टीका कार्यकर्ता हौं । कम्युनिष्ट ल्याटिन भाषाको शव्द हो । ल्याटिन भाषामा कम्युनिष्टको अर्थ सामुहिक भन्ने हुन्छ । कम्युनिष्ट समाज भनेको यस्तो समाज हो, जसमा जग्गा जमिन, कलकारखाना आदि सबै कुरा सामुहिक हुन्छन् र सबै मानिसहरु मिलिजुलीकन सामुहिक श्रम गर्दछन् । यो नै कम्युनिष्ट समाज हो । यो नै साम्यवादको आधारशिला हो । यस्तो समाज निर्माणको खुड्किलाको रुपमा सहकारी र उद्यमशिलताको अभियानलाई लिइने छ ।

सहकारी

नेपालको संविधानमा समाजवादको स्थापना गर्ने कुरा लेखिएको छ । त्यो समाजवाद भनेको योग्यता अनुसारको काम र काम अनुसारको दाम पाउने सुस्पष्ट व्यवस्था हो । त्यस्तो व्यवस्था स्थापना गर्न राष्ट्रिय पूँजीको विकास गर्नु जरुरी छ । राष्ट्रिय पूँजीका लागि उद्यमशिल युवा र उद्यमी समाज निर्माण गर्नुपर्ने छ र जसको आधारको रुपमा सहकारीलाई उपयोग गर्नुपर्ने छ । सहकारी आन्दोलन भनेको ‘सबैका लागि एक र एकका लागि सबै’ भन्ने मूल मान्यतामा अडिएको हुन्छ । जुन समाजवादको महत्वपूर्ण आधारशिला हो । कुनै व्यक्ति एकल ढङ्गले मात्रै उद्यमशिल हुन सक्दैन । एकल स्वामित्वले निजी सम्पतिलाई नै बढी प्रश्रय दिइरहेको हुन्छ ।

निजी सम्पतिका भोगीहरुले समाजवाद ल्याउने कुरा केवल स्वरैकल्पना मात्रै हो । यहाँ कमरेड कार्लमाक्र्सको यो भनाईलाई स्मरण गर्नु वाञ्छनीय हुनेछ–‘यदि कसैले आफ्नो लागि मात्र काम गर्छ भने सायद ऊ एक प्रसिद्ध विद्वान, ठूलो ज्ञानी वा ठूलो कवि वन्न सक्ला तर, ऊ कहिल्यै पनि परिपूर्ण, साँच्चीकै महान् पुरुष बन्न सक्दैन । इतिहासले त्यस्ता मानिसहरुलाई सबभन्दा महानको संज्ञा दिन्छ, जसले साझा भलाईका लागि काम गरेर आफूलाई प्रतिष्ठित बनाएको हुन्छ ।’ वास्तवमा सहकारी आन्दोलनले यस मर्मलाई जुरुक्कै बोकेको छ । नेपालको सबै सहकरी यस मर्म, धर्म, मूल्य, मान्यता र परम्परामा छ कि छैनन् ? भनेर हेर्न त पर्छ नै अपितु सहकारी नै समाजवाद ल्याउने एक सकारात्मक विकल्प भने पक्का हो ।

सहकारीका सम्बन्धमा अन्तर्राष्ट्रिय सहकारी महासंघले १९९५ मा परिभाषित गरे अनुसार ‘सहकारी त्यस्ता व्यक्तिहरुको स्वायत्त संगठन हो, जो स्वेच्छिक रुपमा एकजुट भई आफ्ना समान आर्थिक सामाजिक र साँस्कृतिक आवश्यकता र आकांक्षाहरुको परिपूर्ति संयुक्त स्वामित्व तथा प्रजातान्त्रिक रुपमा नियन्त्रित व्यवसायमार्फत गर्दछन् ।’ सहकारी संस्था सेवामूलक व्यवसायिक संगठन हो । सह+कार्य+विधि, सँगै सबै मिलेर गरिने काम, साझा आवश्यकताको सामुहिक रुपमा कार्यसम्पादन गरी परिपूर्ति गर्ने माध्यम, एक भन्दा बढी व्यक्तिहरुको समूह र सामुहिक रुपमा लाभको बाँडफाँड गरिने व्यवसायलाई नै वास्तवमा सहकारीता भनिन्छ । उद्यमशिल बन्ने विभिन्न व्यवसायमध्ये सहकारी व्यवसायलाई न्यायमा आधारित व्यवसायका रुपमा लिइन्छ । सहकारी व्यवसायलाई समाजवाद र पूँजीवादको सेतुको रुपमा पनि लिने गरिन्छ । त्यसैले सहकारीता एक अभियानको रुपमा युवा संगठनले सञ्चालन गर्नुपर्ने छ । जुन अभियानको नारा ‘एक पालिका एक सहकारी, औद्योगिक आन्दोलन चलाऔं प्रभावकारी’ रहने छ ।

उद्यमशिलता

उद्यमशिलता भनेको उद्यमीले गर्नुपर्ने कार्य हो । उद्यमीको कार्य र व्यवहार नै उद्यमशिलता हो । उद्यमशिलता जोखिम वहन गर्ने कार्य हो । नविनतम सोच, खोज र व्यवसाय-उद्यम प्रारम्भ गर्ने कार्य नै उद्यमशिलता हो । व्यवसायिक सोंच राख्ने तथा व्यवसायलाई कार्यान्वयन गर्ने क्षमताको पूर्णता नै उद्यमशिलता हो । उद्यम सञ्चालक उद्यमी हो । उद्यमीले आफ्नो उद्यम सञ्चालनका लागि ज्ञान, सीप, श्रम, पूँजी, जमिन, प्रविधि र समयको लगानी र अनिश्चितता, जोखिम र प्रतिष्पर्धा जस्ता हाँकलाई स्वीकार गर्दै आफ्नो उद्यमलाई अगाडि बढाईरहेको हुन्छ र हुनु पर्दछ । यी गुणहरुको निपूर्णता नै उद्यमशिलता हो । उद्यमशिल क्षमता भएको व्यक्ति उद्यमी हो । उद्यमीले उद्यम स्थापना गर्दछ ।

उद्यमशिलतासम्बन्धी विद्वान J.A. Timmons ले भनेका छन्, ‘उद्यमशिलता व्यवहारिक रुपमा शून्यताबाट केही कुरा सिर्जना गर्ने र निर्माण गर्ने क्षमता हो । मौलिक रुपले मानवीय सिर्जनात्मक कार्यका लागि पर्खनु, विश्लेषण गर्नु, वा व्याख्या गर्नुभन्दा बरु प्रारम्भ गरेर, निर्माण गरेर तथा उपलब्धी हासिल गरेर व्यक्तिगत शक्ति पत्ता लगाउनु हो । उद्यमशिलतालाई आंकलन गरिएको जोखिम वहन गर्ने तथा असफलताको अवसर न्युन गर्ने क्षमता आवश्यक छ । यो उद्यमशिल सीप तथा प्रतिभाहरुलाई पूरा गर्नका लागि स्थापित समूह निर्माण गर्ने क्षमता हो ।

उद्यमीसँग आफ्नो उद्यमलाई प्रवद्र्धन गर्न, सुदृढ गर्न र अझ विकास गर्न उद्यमशिलता जस्ता गुण तथा क्षमता हुनु आवश्यक छ । उद्यमशिलताको अभावमा उद्यमीले आफ्नो उद्यमलाई विकास गर्न नसक्ने निश्चित छ । भूमि, श्रम, पूँजी र दक्षताको उचित समिश्रणबाट उद्यमको सकारात्मक नतिजा आउँछ । यसको संयोजनको ज्ञान–सीप र दक्षता नै उद्यमशिलता हो । जब व्यक्तिहरुलाई उद्यमी बनाइन्छ तब देशले समृद्धिको आकार लिन्छ । समृद्धि सपना हैन वास्तविकतामा रुपान्तरण हुन्छ । उद्यमी को बन्न सक्छ ? वास्तवमा उद्यमी युवा बन्न सक्छ । कार्लमाक्र्सले भन्नु भएको छ कि ‘कुनै पनि नयाँ चिजको जन्म पूरानो चिजको गर्वबाट जन्मिन्छ र त्यो पूरानो भन्दा धेरै शक्तिशाली हुन्छ ।’ हामीले यो प्रक्रियालाई अर्को ढङ्गबाट पनि हेर्न सक्छौं । एउटा गेडा मकैको बीउ माटोमा रोपिन्छ । त्यसकै गर्भबाट मकैको विरुवा र बोट हुँदै २-३ घोगा उत्पादन हुन्छ ।

पाको पुस्ताभन्दा युवा पुस्ताले नै श्रम गर्न सक्छ, सीप सिक्न सक्छ । जोखिम मोल्न सक्छ । त्यसैले श्रम बेच्ने युवा मात्रै होइन उसले उत्पादन गरेको माल विक्री गर्ने उद्यमशिल युवा निर्माण गर्नु नेपाली समाजको ज्वलन्त आवश्यकता हो । यसका लागि युवा संगठनहरु उद्यमको सञ्चालनका सहयोगी, नेतृत्व विकास, सफलताका सूत्रहरुको निर्माण, तालिम र प्रशिक्षण सञ्चालन गर्ने कमिटी निर्माण गर्र्ने चरणमा प्रवेश गरेका छन् । यसर्थ उद्यमशिलताको विषय हामी युवाहरुको चासो र सरोकारको विषय बनेको छ । युवाहरुलाई क्रान्तिकारी बनाउनका लागि उसको दिमागमा समानता र श्रमजीवि वर्गीय पक्षधरताको माक्र्सवादी चेतना तथा हातमा राष्ट्रिय पूँजी विकास गर्ने श्रम र सीप प्रदान गरिनु पर्दछ । युवा संघ नेपालले आफ्नो विधानको महत्वपूर्ण पक्ष सपथ ग्रहणको व्यहोरामा भनेको छ, ‘म कुनै न कुनै पेशा व्यवसायमा संलग्न रहनेछु र कमाएको निश्चित रकम राज्यलाई कर तिर्नेछु । मैले तिरेको करको सदुपयोग भएको छ कि छैन सदैव निगरानी गर्दछु ।’ भनेर उल्लेख गरेको छ ।

यस प्रकारको कसम खाइसकेपछि युवा संघका प्रत्येक सदस्य कुनै न कुनै पेशा व्यवसायमा संलग्न हुनेछन् र तिनीहरुले राजनीति पेशा होइन बरु पेशा व्यवसाय सँगसँगै राजनीति गर्ने हो भनेर दुनियाँलाई सिकाउने छन् । यसकारण पनि सहकारी र उद्यमशिलता युवा संगठनका चासो र सरोकारको विषय हो । समृद्धिका लागि श्रम र श्रमका लागि सीप जरुरी छ । सीप श्रम र माक्र्सवादी चेतनाले भरिएका, जनताको दुःख–सुखमा जोडिएका युवाहरु वास्तवमै क्रान्तिकारी ठहरिने छन् । तिनीहरुले नै समाजवाद निर्माण गर्नेछन् । कमरेड माओका अनुसार ‘कुनै युवा क्रान्तिकारी हो कि होइन भनेर हामीले कसरी जाँच्ने ?  यसको एक मात्र कसी हुनसक्छ, त्यो हो ऊ मजदुरहरु र किसानहरुको व्यापक समूहसँग घनिष्ट रुपले गाँसिन तयार छ कि छैन र व्यवहारमा त्यसो गर्छ कि गर्दैन ? यदि त्यसो गर्न तयार छ र साँच्ची नै त्यसो गर्छ भने ऊ क्रान्तिकारी हो, होइन भने ऊ अक्रान्तिकारी हो ।’ तसर्थ कारखानाका मजदुरसँग र खेतका किसानसँग जोडिने अभियान भनेको उद्यमशिल अभियान हो । यो अभियान सञ्चालन गर्नु युवा संघको कार्यभार हो । जुन अभियान ‘एक कमिटी एक उद्यमशिल काम, उद्यमशिलता युवा संघको शान’ भन्ने नाराका साथ सञ्चालन गरिने छ । जुन अभियानले हाम्रा कमिटीलाई गफ चुट्ने होइन उत्पादन कमिटीमा रुपान्तरण गर्नेछ । समाजवाद निर्माता बनाउने छ ।

समाजवादी क्रान्ति

क्रान्तिकारी युवाले क्रान्तिकारी संगठन निर्माण गर्छ भने क्रान्तिकारी संगठनले समाजमा क्रान्ति जन्माउँछ । संगठन सञ्चालनको मूल दस्तावेज संगठनको विधान हो । कम्युनिष्ट पार्टी बैज्ञानिक विचार सिद्धान्त र कार्यक्रमलाई अंगाल्ने संगठन भएको हुनाले निश्चित विधि, निश्चित पद्धति र प्रक्रिया अनुरुप परिचालित हुन्छ । कम्युनिष्ट पार्टी समाजको सबैभन्दा सचेत, माक्र्सवादी सिद्धान्तबाट लैस भएका, वर्ग संघर्षमा खारिएका, श्रमजीवि वर्गको पक्षधरता, प्रगति र परिवर्तनकामी मानिसहरुबाट निर्माण गरिएको क्रान्तिकारी पार्टी हो । त्यस प्रकारको पार्टीको जनसंगठनको कमिटीमा रहनु काम गर्नु र सदस्यता लिनु भनेको कम्युनिष्ट पार्टीकै सदस्य लिनु सरह हो वा लिनका लागि योग्यता पुग्नु हो ।

तसर्थ कम्युनिष्ट पार्टी सदस्य हुनु भने त्यस पार्टीको सिद्धान्तलाई अनुशरण गर्नु, पार्टको निश्चित कमिटी प्रणालीमा रहेर जिम्मेवारी पूरा गर्नु र पार्टीलाई निर्धारित लेवी तिर्नु तथा कार्यक्रम सफल पार्नुसँग सम्बन्धित रहेको हुन्छ । कुनै पनि संगठन कस्तो छ ? र त्यस संगठनको उद्देश्यहरु कस्ता छन् ? भन्ने कुरा त्यस संगठनले अंगिकार गर्ने कार्यक्रमले नै निर्धारण गरेका हुन्छन् । हाम्रा कार्यक्रम र कार्ययोजना संगठनको कार्यक्रमिक मान्यतालाई सेवा दिने, बल दिने र लागू गर्ने खालका हुनु पर्दछ । जसले क्रान्तिको कार्यक्रमलाई नै समग्रमा टेवा दिईरहेको हुनुपर्दछ । क्रान्तिको कार्यक्रम भनेको त्यस पार्टीले लिएको लक्ष्य, उद्देश्यहरु र तिनलाई प्राप्त गरी अगाडि बढ्ने समग्र योजना एवम् नीतिहरुको समष्टी हो । कार्यक्रममा समाजको विश्लेषण, क्रान्तिको आवश्यकता, क्रान्तिको नेतृत्वकारी मुख्य र सहायक शक्तिहरु, क्रान्तिका शत्रु शक्तिहरु एवम् प्रहारका निशानाहरु, क्रान्तिपछिको निर्माणसँग सम्वन्धित नीतिहरु र क्रान्तिको भावी दिशालगायतका सवालहरु समेत स्पष्ट रुपमा उल्लेख गरिएको हुन्छ । सो उल्लेखित कार्यहरुको स्वरुपलाई पूरा गर्ने गरी नै युवा संगठनले कार्यक्रम अगाडि बढाउनु पर्छ ।

क्रान्ति एउटा वस्तुगत अवस्थाबाट अर्को अवस्थामा प्रवेश गर्ने घटनाको नाम हो । क्रान्ति ह्वात्तै, झट्टै र कसैको मनोकल्पनाबाट मात्र प्राप्त हुने कुरा होइन । क्रान्तिलाई निष्कर्षमा पुर्‍याउने, सम्पन्न गर्ने र मार्गदर्शन गर्ने विचारलाई क्रान्तिकारी विचार भनिन्छ । यस्तो विचार बोक्ने संगठनलाई क्रान्तिकारी संगठन भनिन्छ । यो संसार गतिशिल छ, परिवर्तनशिल छ र निरन्तर परिवर्तन भइरहेको हुन्छ । कुनै पनि क्रान्तिकारी संगठनलाई उक्त संगठनको नीति, विचार र व्यवहारले अनि कार्यक्रमले नै देश दुनियाँमा चिनाउने हो । यस्तो प्रकारको क्रान्तिकारी संगठनका लागि निष्ठावान क्रान्तिकारी पंक्तिको निर्माण गर्नु पर्दछ । क्रान्ति र क्रान्तिकारीबीचको अत्यन्त अन्योन्याश्रित सम्वन्ध रहेको हुन्छ । यसकारण समानतायुक्त, विभेदमुक्त समाज निर्माण गरी एउटा साम्यवादी क्रान्तिकारी समाज निर्माणका लागि हर मानिसलाई क्रान्तिकारी बनाउने दायित्व क्रान्तिकारी संगठनको रहेको हुन्छ ।

कम्युनिष्ट पार्टी कुनै अलौकिक ठाउँबाट उत्पति र विकास भएको होइन । कम्युनिष्ट पार्टी यहि समाजबाट, समाजको उत्पादन पद्धतिबाट, उत्पादन सम्बन्धबाट, वर्ग संर्घषबाट उत्पति भएको, विकसित भएको र जनताकाबीचमा नै जन्मिएको, हुर्किएको र फैलिएको हो । तसर्थ हामी कम्युनिष्टका कार्यकर्ताहरुले संगठनको कार्यक्रमको सन्दर्भमा तत्कालको आवश्यकतालाई, वस्तुस्थितिलाई, समाजको स्वरुप र चरित्रलाई ख्याल गर्दै अध्ययन र विश्लेशण गर्नुपर्ने हुन्छ । नेपाली समाजको आजको आवश्यकता भनेको नेपाली समाजको विगत हजारौं वर्षदेखिको राष्ट्रिय एकतालाई, धार्मिक सहिष्णुता र राष्ट्रिय अखण्डतालाई कामय राख्ने, लोकतन्त्रको मूल्य, मान्यता र दर्शन सिद्धान्तलाई जनताको जीवनमा लागू गर्ने, समृद्ध नेपाल र सुखी नेपाली निर्माण गरी सशक्त र बलियो बनाउने, समृद्धिको यात्रामा डो¥याउने र समाजवादमा पुर्‍याउने नै मूख्य कार्यभार हो । यो कार्यभार पूरा गर्दा समाजवादी क्रान्ति सम्पन्न हुनेछ ।
(लेखक  संगठन युवा संघ नेपालका एमाले स्थायी कमिटी सदस्य हुन्)

प्रतिक्रिया दिनुहोस्