समृद्धिका निम्ति ग्रामीण सडक र भौगर्भिक अध्ययन


२७ श्रावण २०७५, आईतवार
netra bhandari

नेत्र भण्डारी
ग्रामीण सडक दीर्घकालीन अर्थ राख्ने देशको प्रमुख पूर्वाधार हो । तर भु–बनोट, अस्थिर भौगोलिक अवस्थालाई अध्ध्यन तथा ध्यान नगरी बनाइएका सडकले राज्यको वजेट खर्च त गर्छ नै, दिगो विकासको कुरा नारामै सीमित राख्दछ । ग्रामीण क्षेत्रको गरिबी, उत्पादन लगायतका कुरालाई सम्बोधन गर्न विभिन्न सडक निर्माण कार्य तीव्र छन् तर वातावरण तथा भौगर्भिक मैत्री, प्रविधि मैत्री नहुँदा नेपालका ग्रामीण सडक निर्माणका लागि निर्माण भएका छन् । 

प्रकृतिले भन्दा पनि प्रकृतिमा हामीले गरेका अवैज्ञानिक कार्यले विपत र विनाश निम्त्याउँछ । नेपालमा धेरै पुरानादेखि कम उमेरका चट्टान पाइन्छ । सानो भूभागमा पनि विभिन्न किसिमका चट्टान, दरार (Fault system) भएकाले पनि सडक जस्ता विकासका प्रमुख पूर्वाधारमा भौगर्भिक चुनौती रहेका छन् । समथर तराईमा बाढी, कटान र डुबानको समस्या सडकले खेप्दै आएको छ । यसका निम्ति नदी र खोलानाला, तिनका स्रोत, भूमिगत तथा सतही जलस्रोतको विस्त्तृत जलभूगर्भ (Hydrogeological) अध्ययन जरुरी छ ।

यसैगरी कान्छो तर संवेदनशील पर्वत शृंखला चुरेमा कमजोर पत्रेदार चट्टान छन् जसमा भारवहन सामथ्र्य थोरै हुन्छ र धेरै पहिरो जाने समस्या हुन्छ । चुरे, महाभारत पर्वत लगायतका पहाडको दक्षिणतर्फ फर्केको भागमा पानी धेरै वर्षा हुने भएकोले र पहाडहरु निरन्तर उठिरहेकाले पनि थप संवेदनशील हुन्छ । यसैगरी महाभारत पर्वतमा पत्रेदार र परिवर्तित चट्टान पाइन्छ जुन चुरेको भन्दा बलियो भए पनि विभिन्न दरारका कारणले टुक्रिएका, भाँचिएका र कमजोर छन् ।

उच्च पहाडी पर्वतमा परिवर्तित चट्टान सँगै केही स्थानमा आग्नेय चट्टान पनि पाइन्छ जुन तुलनात्मक रुपमा बलिया हुन्छ्न । तर नेपालको केही भूभागमा मात्रै यस्ता आग्नेय चट्टान सतहमा थोरै मात्रामा पाइन्छ । यसरी नेपालका विभिन्न स्थानमा भिन्नभिन्न चट्टान र फरक भौगोलिक अवस्थिति पाइन्छ ।

हजारौं वर्ष पुरानो ठूलो पहिरो, उपत्यका, बाढी भएका स्थानमा भौगोलिक बनावट परिवर्तन भएको हुन्छ । मेची–महाकाली मात्रै नभई पाकिस्तानदेखि भुटानसम्म फैलिएका दरार (Fault system)  नेपालमा छन् जुन नजिकै र उत्तिकै शक्तिशाली पनि छन् ।

इन्डियन प्लेट युरासियन प्लेटमा घुसिरहँदा यहाँ पुरानो टेथिस सागर मिचिएर पहाड बन्ने क्रम अहिले पनि सक्रिय छ जसले यहाँका सानादेखि ठुला दरार र भूगर्भ एकदमै अस्थिर, चलायमान र शक्तिशाली बनाएका छन् । यी भौगर्भिक विशेषता र अवस्थितिले सडक जस्ता महत्वपूर्ण पुर्वाधार निर्माणमा ठुलो असर पादर्छ ।

हजारौं वर्ष पुरानो ठूलो पहिरो, उपत्यका, बाढी भएका स्थानमा भौगोलिक बनावट परिवर्तन भएको हुन्छ । मेची–महाकाली मात्रै नभई पाकिस्तानदेखि भुटानसम्म फैलिएका दरार (Fault system) नेपालमा छन् जुन नजिकै र उत्तिकै शक्तिशाली पनि छन् ।

ठूला राजमार्गका केही स्थानमा सडक मर्मत गर्दागर्दै सम्बन्धित निकाय नै हैरान छ जसलाई त्यहाँको वास्तविक भौगर्भिक अध्ध्यन र लागु हुन आवश्यक देखिन्छ । कहिलेकाहीँ त सडक निर्माण भन्दा मर्मतमा धेरै साधनस्रोत र वजेट लगानी भएको पनि छन् । यी कुरामा उचित ध्यान नदिई, आवश्यक अध्ययन र प्रविधिको प्रयोग नगर्दा पहाडका सडक बिग्रन्छन् भन्ने मात्र नभई ग्रामीण आर्थिक, सामाजिक विकास र समृद्ध मुलुक निर्माणको लक्ष्यमा पनि गाम्भीर्यता देखिन्छ ।

हामीले प्रकृतिलाई पूर्ण नियन्त्रण गर्न सक्दैनौ तर यसमा अध्ययन गरी वैज्ञानिक रुपमा असर न्यूनीकरण गर्न सकिन्छ । नेपालको ग्रामीण सडकको निर्माणले पहाडको अस्थिरता बढाउने, भूक्षय हुने, पहिरो सृजना वा पुनः सक्रिय गराउने समस्या ल्याएको छ । केही स्थानमा त पूरा पहाड नै अस्थिर बनाई लामो समय पहिरोको समस्या बनाएको छ ।

पहिरो अध्ययन नगरी पहिरोको फेद (Toe) लाई काटेर सडकको निर्माण गर्दा पहिरो पुनः सक्रिय हुन्छ । पहाडमा रहेको पानी, मुलको स्रोत, पानीको रसायन (Seepage) लाई पूर्ण व्यवस्थापन हुन जरुरी छ । त्यहाँको भूबनोट, पहाडको बाहिरी र भित्री बनावट, पत्थर र माटोको अवस्थिति, प्रकार, गहिराई, झुकाव (Slope angle) लगाएतका विशेषताहरुलाई मुख्यतः ध्यान दिनुपर्छ ।

सडक निर्माण गर्न त्यहाँको विस्तृत इन्जिनियरिङ भौगर्भिक अध्ययन, इन्जिनियरिङ भौगर्भिक नक्सा निर्माण Road cut slope design, slope stability जस्ता विस्तृत अध्ययन जरुरी छ जुन भूगर्भशास्त्रीहरुले सजिलै गर्न सक्दछन् । भूगर्भशास्त्रीले विस्तृत अध्ध्यन गरी, भौगर्भिक नक्सा र प्रतिवेदन अनुसार आवश्यक सुझावसहित स्वीकृत गरेपछि मात्रै सिभिल इन्जिनियरले त्यहाँ बनाउने संरचनाको नक्सामात्र बनाउने हो । पहाडको Slope लाई स्थिर बनाउन विभिन्न प्रविधिहरु अपनाउन पर्दछ । बजेट, आवश्यकता र समस्या अनुसार उपयुक्त प्रविधि अपनाउनु पर्दछ ।

ग्रामीण क्षेत्रको विकास र अर्थतन्त्र उकास्न बनाइएका सडक कतै भौगर्भिक अध्ययन नगरिएको र यसका आधारभूत कुरा पनि ख्याल गरेको पाइएन ।

प्रथमतः सबै बुझ्ने र समान्य उदाहरणमा Bio-engineering लाई लिन सकिन्छ । हेर्दा अत्यन्त समान्य लाग्ने यसमा सम्बन्धित पहिरो रोक्नका निम्ति कुन वनस्पति, कति कोणमा, कसरी ठाडो, तेर्साे (Diagonal), कत्रो आकारको आदि जस्ता सामान्य कुरा पनि वैज्ञानिक अध्ध्यनका आधारमा संवेदनशील रुपमा गर्नुपर्छ । नेपालमै भौगर्भिक प्रविधि प्रयोग गरी रोकिएका पहिरो आज हेर्दा यहाँ पनि पहिरो छ र ? भन्ने प्रश्न उठ्नु सुखद हो । विभिन्न प्रकरका पहिरोमा बस्ती नै बसेको जस्तो संबेदनशील कुरा पनि हामीमाझ छ ।

अध्ययनकै क्रममा मलाई दुःख लागेको वास्तविकता के छ भने सरकारले ग्रामीण क्षेत्रको विकास र अर्थतन्त्र उकास्न बनाइएका सडक कतै भौगर्भिक अध्ययन नगरिएको र यसका आधारभूत कुरा पनि ख्याल गरेको पाइएन ।

ठूला राजमार्गमा पनि भौगर्भिक अध्ध्यन पूर्ण नभएको पाइने कुरा अगाडि यो ग्रामीण सडकको विषय कमजोर होला तर, अधिकांश ग्रामीण ठाउँमा बस्ने नेपाली यसको प्रत्यक्ष वा अप्रत्यक्ष मारमा छन् । एउटा उदाहरण, पहाडमा सडक बनाउन त्यहाँको भौगर्भिक अध्ययन बिनानै एक्साभेटर चल्न थाल्छ, लाग्छ कि एक्साभेटर अपरेटर नै त्यहाँको मुख्य वा आवश्यक प्राविधिक हो । सडकमा नाली छैन, कति कोणमा पहाड काट्ने, Catchment  को भाग कति राख्ने, कस्तो चट्टानमा कसरी काट्ने, सडकको कोण वा भिरालोपन, नाला व्यवस्थापन जस्ता अति आधारभूत कुरा पनि ब्यवस्था गरिन्छ ।

एक ग्रामीण सडकमा मैले भोगेको वर्षामा सडकबाट नै पहाडको पाखाको सम्पूर्ण पानी बग्छ र सम्पूर्ण माटो बगाएर धेरैको खेतबारी पनि पुर्छ, अनि सडकमा ठूल–ठूला ढुङ्गा मात्रै । फेरि अर्को हिउँदमा अर्को बजेटमा एक्साभेटर लगाइन्छ ।

पहाडको एकै पाखामा अब्यवस्थित रुपमा धेरै सडक खन्नु पनि जटिल समस्या हो । यो त अहिले मलाई सम्झना भएको प्रतिनिधिमूलक घटना हो । तर यस्तो अव्यवस्थित सडक निर्माणले राज्यकोषको खर्च, नागरिकलाई सास्ती भएको छ जबकि यसको मूल उद्देश्य आर्थिक समृद्धि र दिगो विकास हो । यसको कमजोरी सम्बन्धित निकायको लापरबाही, भौगर्भिक अध्ध्यनको कमी र स्थानीय, प्रदेश र केन्द्रीय सरकारमा सडक निर्माणमा भौगर्भिक अध्ध्यनको नीतिगत कमजोरी पनि हो कि ?

पहाडको एकै पाखामा अब्यवस्थित रुपमा धेरै सडक खन्नु पनि जटिल समस्या हो । यो त अहिले मलाई सम्झना भएको प्रतिनिधिमूलक घटना हो । तर यस्तो अव्यवस्थित सडक निर्माणले राज्यकोषको खर्च, नागरिकलाई सास्ती भएको छ जबकि यसको मूल उद्देश्य आर्थिक समृद्धि र दिगो विकास हो ।

सडक लगायतका भौतिक संरचना निर्माण गर्दा भौगर्भिक अध्ध्यन प्रमुख आधार हो । समृद्ध मुलुक निर्माणमा लागेका हामी सबैले यस्ता विकासका काममा भौगर्भिक तथा प्रविधिक अध्ययन नगरी विकासको लक्ष्य आशा गर्नु भनेको जर्सी गाई दुहेर चुहिने क्यानमा दूध बेच्न लानु जस्तै हो, जहाँ सानो कमजोरीले प्रक्षेपित लक्ष्य हासिल हुन सकेको छैन ।

तसर्थ हाम्रो जस्तो गरिब मुलुकको स–सानो वजेट पनि वैज्ञानिक रुपमा प्रयोग गरी दिगो विकास र समृद्धि हासिल गर्न हामी सबै जिम्मेवार हुनुपर्दछ ।

(लेखकः त्रिचन्द्र कलेजको भूगर्भ विभागमा आवद्ध छन् ।)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७