सपनाको भारी बोकेर सरिता


१६ भाद्र २०७६, सोमबार
Sarita Lama 1 1

आइतबार (१५ भदौ ०७६) काठमाडौंको दरबारमार्ग स्थित उडल्यान्ड होटलमा नेपालका ट्रेकिङ व्यवसायीहरुको निकै बाक्लो भिडभाड थियो । यही सेप्टेम्बर ६ मा हुने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचनका लागि व्यवसायीहरु भेला भएका थिए । त्यही भिडमा मुस्कुराउँदै ओहोरदोहोर गरीरहेकी थिइन, एक महिला । पुरुषहरुको भीडमा उनी एक्लो थिइन् । ती एक्ली महिलाको नाम हो, सरिता लामा ।

भिडमा एक्लै हुनुहुन्छ त ? ‘होइन, नी एक्लो,’ फिस्स हाँसेर प्रतिप्रश्न गरिन् ‘हाम्रो साझा अजेन्डा र सपनाका यतिधेरै सहयात्री छौं । यहाँ महिला र पुरुषको कुरै भएन नी हजुर । म कसरी एक्लो भएँ ?’ पुरुषहरुको भीडमा उनी एक्लो थिइन् । तर, काम र समन्वयको हिसाबले उनी सबैभन्दा बढी सक्रिय देखिन्थिन् । अन्जन थापा (कुमार) नेतृत्वको टानको प्यानलको कामदेखि व्यबस्थापनसम्मका कामहरुमा उनी सक्रिय थिइन् । आफ्नो प्यानलको उम्मेदवारी घोषणाको कार्यक्रमस्थल व्यबस्थापनदेखि समूहलाई नै भोट माग्ने काममा सक्रिय थिइन् ।

अपवाद बाहेक अधिकांस सार्वजनिक पदहरुमा महिलाको अगाडी उप झुन्डिएको हुन्छ । त्यही अपवाद बनेकी छिन्, सरिता । उनको पदको अगाडि उप हटेको मात्रै छैन, कार्यकारी पद महासचिवको उम्मेदवारी बनेकी छिन् ।

व्यवसायिक तथा समावेशी समूहको नाम दिइएको यो टिम सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको प्यानल हो । तपाईँ त ठुलो नेता पो हुनुभयो त ? ‘ठुलै नेता पो भएँ है,’ खुलेर हाँस्दै भनिन्,‘मलाई नेता हुने रहर थिएन । तर, निष्ठा र इमानका साथ काम गरियो भने विश्वास र माया पाइने रहेछ ।’ यही पद चाहिन्छ भनेर उनको दाबी थिएन । जोर–जबरजस्ती हुने कुरै भएन । तर, उनको सक्रियता, समपर्ण र सपना देखेर उनलाई महासचिवको उम्मेदवारको रुपमा बनाइयो । सरिताले सुनाइन्, ‘यो म प्रतिको यो विश्वास र मायालाई भोली म कामबाटै उत्तर दिनेछु । अहिले यति भन्छु, की मलाई महासचिव बनाएकोमा गौरव गर्ने अवस्था सृजना गर्नेछु । त्यो मेरो कामले हुनेछ ।’

सरिताको सपना

sarita tamang
रामेछाप दोरम्बाको सरिता कुनै समयमा नर्श थिइन् । उतिबेला यो पेशा आकर्षक पेशा थियो । अहिले पनि छ । तर, त्यही पेशा छोडेर उनी ट्रेकिङ क्षेत्रमा लागिन् । भन्छिन्, ‘मैले फराकिलो बाटो र उज्यालो रोजेकी हुँ । सम्बन्धित भुगोल र माटोलाई नटेकी देश बुझ्न सकिन्न । मलाई ट्रेकिङले धेरै सिकाएको छ ।’ सरिता अफ द वाल ट्रेकिङ प्रा.लिकी प्रबन्ध निर्देशक छिन् । विगत एक दसकअघिदेखी उनी यही कम्पनीबाट देश घुम्ने र घुमाउने पेशामा छिन् । त्यसो त ट्रेकिङ महिलाहरुको निम्ती असाध्यै उपयोगी पेशा भएको उनको अनुभव छ । भन्छिन्,‘यो मौसमी पेशा हो । निश्चित समय काम गरेपछि अरु समयमा फुर्सद हुन्छ । फेरि निश्चित समयको सिमा पनि हुदैँन । त्यस कारण महिलाहरुलाई सजिलो छ ।’

सरिता पूर्वको कञ्चजनङादेखि सुदुरका जिल्लाहरु घुमेकी छिन् । दर्जन बढी मुलुक घुमेकी छिन् । भन्छिन्, ‘ट्रेकिङ व्यवासयको क्रममा म नेपालको सबैजसो पर्यटकीय स्थलहरु घुमेकी छु । भुगोलको जानकारी मात्रै होइन ट्रेकिङ क्षेत्रका व्यसायहरुको सबै खाले सुखदुखसँग परिचित छु ।’

त्यही अनुभव र ज्ञानलाई संस्थागत र संगठित रुपमा प्रयोग गर्नका लागि टान महत्वपूर्ण फोरम हुने विश्वासका साथ आफू उम्मेदवारी बनेको उनको भनाई छ । यसअघि उनी टानको कार्यसमिति सदस्य थिइन् । त्यो बेला पनि उनको सक्रियता लोभलाग्दो थियो । सरिताले सुनाइन्, ‘सायद त्यो बेला मैले इमानदारिताको साथ गरेको कामले पनि मैले यो अवसर पाएकी हुँ ।’


काँडाबीच यात्रा
हामी कहाँको समाज आज पनि उतिधेरै फराकिलो छैन । महिलाहरुको निम्ती पाइला–पाइलामा अबरोध र अप्ठयाराहरु छन् । जायज नाजायक प्रश्नहरुको सामना गर्दे अगाडि जानुपर्ने अवस्था छ । हामीले साध्यौं, ‘महिलालाई गाहो छ है ?’ ‘हिजोभन्दा हामो समाज धेरै फराकिलो भइसक्यो,’ उनले भनिन्, ‘अप्ठ्यारो सबैको लागि छ । मेरो लागि पनि छ । तर, कसले के भन्छ होइन म के गर्छु ? त्यसमा विश्वास गर्नुपर्छ ।

सरिताको सपना

Sarita Lama
टानमा सरिताको निकै लामो योजनाको सुची छ । सांगठानिक कामदेखि डिजिटलाइटसम्मका । व्यवयासीहरुको हकहितमा काम गर्ने त छदैछ, त्यस बाहेक टानलाई सबै हिसाबले दुरुस्त बनाउनु पर्ने उनको भनाइ छ, उनले भनिन,‘व्यवसायीहरुको डिजिटल अभिलेख, पदयात्रासँग जोडिएका स्थानहरुको अभिलेखिकरण र पकाशन लगायतका धेरै काम गर्न सकिन्छ ।

ट्रेकिङ र टानसँग जोडिएका अनेक सपना देखेकी छिन् सरिताले । भन्छिन्, ‘धेरै सपनाहरुको भारी बोकेर महासचिवको उम्मेदवारी दिएकी छु । भोली निर्वाचित भएमा त्यो भारीलाई गन्तव्यमा पुराएर मात्रै म भारी बिसाउँने छु ।’

सरिताले आफूले निर्वाचन जित्ने समेत दाबी गरिन् । के छ त्यस्तो आधार ? ‘समपर्ण, निष्ठा र इमान,’ उनले निचोड सुनाइन्,‘इमान र निष्ठाको साथ काम गर्ने जो केहीले विश्वास र मत जित्छ । म जे गर्नेछु, इमानको साथ गर्नेछु । यसपाला इमानको जित हुनेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७