जग्गा बेच्न नदिएपछि आमाको हत्या, हत्यापछि करणीको प्रयास

आमा मार्न साथीलाई एक लाखको ‘सुपारी’


७ चैत्र २०७८, सोमबार
murder accuse

पोखरा । पोखरामा एक वृद्धाको हत्या गरेको आरोपमा उनकै छोरा पक्राउ परेका छन् । पोखरा महानगरपालिका-१२, शीतलादेवीकी ६७ वर्षकी नौमाया नेपाली ४ चैतको विहान आफ्नै कोठामा मृत भेटिएकी थिइन् ।

उनको हत्या आरोपमा छोरा ३६ वर्षका ओमबहादुर नेपाली र ओमका साथी ३७ वर्षका कुमार गुरुङ पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आमाको जग्गा बेच्न नदिएको निहुँमा ओमले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

रोजगारीका लागि दुबई गएका ओमबहादुर नेपाली गत वर्ष नेपाल फर्किए । उनी घरका जेठा छोरा हुन् । कास्कीको मादी गाउँपालिका-१० ठेगाना भएका नेपाली हाल पोखरा महानगरपालिका-१२ शितलादेवीमा बस्छन् । रोजगारीमा गए पनि सोचे जस्तो नभएपछि स्वदेश फर्केका ३६ वर्षीय नेपालीको दिनचर्या कुलतमा बित्न थाल्यो । उनी साथीहरूसँग दिनहुँ रक्सी खान थाले । उनलाई पैसा अभाव हुन थाल्यो ।

पैसा अभाव हुन थालेपछि उनले पोखरामा रहेको जग्गा बेच्ने प्रयास गरे । तर, उनकी वृद्ध आमाले मानिनन् । भोगचलन गरिरहेको जग्गा बेच्न नमानेपछि उनले आफ्नै आमाको हत्या गर्ने योजना बुनेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

त्यसपछि उनले आफ्ना साथी कुमार गुरुङलाई आमाको हत्या गरेमा एक लाख दिने सुपारी दिएको प्रहरीले जनाएको छ । एक लाख पाउने भएपछि ३७ वर्षीय गुरुङ पनि राजी भए । घटना चैत ४ गतेको हो । नेपाली र गुरुङ दुवैले प्रारम्भिक बयानमा हत्या स्वीकार गरेको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । प्रहरीकाअनुसार घटनाको अघिल्लो दिन चैत ३ गते राति अबेरसम्म दुवै जनाले सँगै बसी मादक पदार्थ सेवन गरेका थिए । त्यसपछि नेपालीले गुरुङलाई भने, ‘एक लाख दिन्छु, मेरी आमालाई मार, म बाहिर बस्छु ।’

प्रहरीकाअनुसार रातको साढे १० बजेको थियो, गुरुङ भित्र गए, नौमाया सुतिरहेकी थिइन् । उनले नौमायाको घाँटी थिचे । निदाएकी नौमायाले अर्को बिहान देख्न पाइनन् । घाँटी थिचेर हत्या मात्र होइन, गुरुङले जबरजस्ती करणी प्रयास समेत गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रवक्ता तिवारीले जानकारी दिए । करणीको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

आमाको हत्यापछि नेपाली आफैले भोलिपल्ट बिहान (चैत ४ गते) आफू नभएको बेलामा आमाको हत्या भएको भनि प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा नौमायाको घाँटीमा थिचेको डाम, अनुहारमा चोट देखिएको थियो । कामको सिलसिलामा काठमाडौंमा गएका नौमायाका ३२ वर्षीय छोरा टेकबहादुर नेपालीले नै जाहेरी दिएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । अनुसन्धानको क्रममा जेठा छोरा नेपाली दुई वर्षअघि दुबईबाट फर्किएका थिए भने उनी यसअघि साउदी अरब पनि गइसकेका थिए ।

दुवईमा वेटर काम गर्ने नेपालीले बर्मेली नागरिकसँग २०१४ मा विवाह गरेका थिए भने उनकी श्रीमतीले उनलाई छाडिसकेकी थिइन् । नेपाली र गुरुङ दुवैमाथि फौजदारी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसुर मा ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७