बगरमा सामूहिक खेती


१८ पुष २०७९, सोमबार
Besar Kheti
फाइल फोटो

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँका रामदल रानाको साँढे चार बिघा जमिन दोदा नदीले कटान गर्‍यो । नदीले जमिन बगरमा परिणत गरेपछि केही समय समस्यामा परेका राना अहिले बगरमा बेसार, सुनकागती, अदुवा खेती गरेर मसला उत्पादनमा गर्छन् ।

नदीको बगर जोगाउँदै ‘बगर टू बगैँचा’ भन्ने अवधारणा अनुरुप गाउँका किसान मिलेर बेसार उद्योग सञ्चालनमा ल्याएको उनले बताए । उनले भने, ‘नदी कटान जोगाउन जैविक तटवन्ध बनाइए पनि अझै पक्की तटबन्ध बनाउन कुनै निकायबाट पहल भएको छैन् ।’ वर्षामा बाढीको त्रासदी हुने गरेको खल्लाजाईमा डुबान तथा कटानको प्रमुख समस्या रहेको रानाको भनाइ छ । ‘अहिले अढाई बिघा जमिन बाँकी छ’, रानाले भने, ‘गाउँका ३५ जना किसान मिलेर बेसार उत्पादन गरेर बिक्री वितरणमा जुटेका छौँ ।’

अहिले खल्लाजाई क्षेत्रको दोदा नदीमा पर्ने करिब दुई किलोमिटर क्षेत्रफलको बगरमा व्यक्तिगत र सामूहिक बेसार खेती गरिएको छ । ‘बेसार उत्पादन गरी बिक्रिबाट रु ६० हजार बचत भएको छ’, स्थानीय अमन रानाले भने, ‘बेसारसँगै कतिपयले बगरमा उखुखेती समेत गरेका छन् ।’

दोदा किसान समूह सञ्चालनमा ल्याएका राना समुदायका किसानले बगर संरक्षणका साथै आम्दानीको स्रोत बनेकाले बेसारखेती गरिरहेको बताएका छन् । ‘सुरुमा यहाँ दोदाबाट जोगिन गाउँमा सामुदायिक विपत् व्यवस्थापन समिति बनायौं’, रानाले भने, ‘पछि बगर संरक्षण र आयमूलक काममा पनि अग्रसर हुँदै आयौं ।’

दोदा किसान समूहले अहिले १० कठ्ठा बगरमा बेसार, १५ कठ्ठामा कागती खेती गरेको जनाएको छ । समूहका सचिव सिमानन्द रानाले गत वर्ष नौ क्विन्टल बेसार बिक्री गरेको बताए । बेसार बेलौरी, धनगढी, अत्तरियाका साथै स्थानीय बजारमा बिक्री गरिदै आएको छ ।

सचिव रानाले भने, ‘बगर संरक्षणले डुबान तथा कटानको समस्या पनि अलिकति कम भएको छ’, उनले भने, ‘समूहले गरेको मुनाफा किसानलाई सहुलियत रुपमा ऋण समेत उपलब्ध गराउँदै आएको छ ।’ नगदेबाली भएकाले यहाँ गहुँ, धान भन्दा बेसार खेतीमा किसान बढी आकर्षित हुन थालेको उनी बताउँछन् । बेसार उत्पादनका लागि दाताबाट मेसिनका साथै बीउबिजन समेत अनुदानमा उपलब्ध भएको सचिव रानाको भनाइ छ ।

कृषि ज्ञान केन्द्र र पालिकाले बेसारको बीउ अनुदानमा उपलब्ध गराएका छन् । यस्तै उत्थान परियोजना अन्तर्गत मेसिन उपलब्ध भएको छ । त्यसैगरी स्थानीय जितबहादुर रानाले समूहमा आवद्ध सबै किसानले बगरमा बेसार खेती गरिरहेको बताए । बेसारप्रति क्विन्टल रु २० हजारका दरले गाउँबाट बिक्री भइरहेको छ । उनले वर्षामा स्थानीयवासीले सुरक्षित स्थान खोज्दै अस्थायी रुपमा अन्यत्र बस्नुपर्ने बाध्यता कायम रहेको बताए । ‘स–साना पालिकाको बजेटले यत्रो ठूलो दोदाको कटान नियन्त्रणमा सम्भव छैन्’, उनले भने, ‘त्यसका लागि केन्द्र सरकारबाट बजेट आए मात्रै कटान नियन्त्रण सम्भव छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७