पानी रङको सहरमा कलामा लोभिँदै युवा


२२ भाद्र २०८०, शुक्रबार
penting
फाइल फोटो

गण्डकी । धेरै पानी पर्ने भएकाले पोखरालाई नेपालको चेरापुुन्जीको उपमा दिइन्छ । क्षणभरमा नै पानी पर्ने, घाम लाग्ने, घनघोर पानी क्षणभरमा नै सुक्ने आदि विविधता पोखराको विशिष्टता हो । यही पोखरालाई कलाका क्षेत्रमा पानी रङको सहरका रुपमा पनि चिनिन्छ ।

कलाका क्षेत्रमा प्रयोग हुने ऐतिहासिक रङका रुपमा पानी रङ स्थापित छ । कलाको इतिहासमा सबैभन्दा बढी प्रयोग भएको रङ (वाटर कलर) मा विगतमा पोखरामा धेरै कला सिर्जना भएकै कारण पानी रङको सहरका रुपमा पोखरा चिनिएको हो ।

पानी रङको प्रयोग गरी कला सिर्जना थालेका वरिष्ठ कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’ देखि बुद्धि गुरुङजस्ता व्यक्तित्वले पोखरालाई पानी रङको सहरका रुपमा परिचित गराउन विशिष्ट योगदान पर्‍याएका हुन् । त्यही पानी रङको सहर पोखराले कलाका क्षेत्रमा आफ्नै विशिष्ट मौलिकता सँगाल्दै अघि बढिरहेको छ । हजुुरबुबा पुस्तादेखि नाति पुस्तासम्मका व्यक्ति पोखरामा कला सिर्जनामा लागेका छन् ।

तनहुँको भीमाद जन्मस्थान भई पोखराको न्यू ग्यालेक्सी स्कुलबाट १२ कक्षा सकेर बसेका एमन गुरुङ यतिखेर कला सिक्दै छन् । सानैदेखि आफूूलाई चित्र कोर्न मन लाग्ने गरेको बताउँने उनी अहिले पोखराको चिप्लेढुङ्गास्थित घामपानी मार्केटभित्र रहेको नगेन आर्ट एकेडेमीमा कला सिक्न लागेका हुन् । कलाको एक वर्षे कोर्ष सिक्ने क्रममा छ महिना समय एकेडेमीमा विताइसकेको उल्लेख गर्दै एमनले आफूले कलामा सम्भावना देखेको बताए । ‘कला सिर्जना मेरो रुचिको विषय हो’, उनले भने, ‘राम्रोसँग कला सिकेर यस क्षेत्रमा म केही गर्न चाहन्छुु ।’

कला सिर्जनामा आफूलाई परिवारको पनि साथ र सहयोग रहेको छ भन्दै एमनले अवसर पाएमा धेरै गर्न सकिने विश्वास रहेको जानकारी गराए । पोखराकै काजी पोखरीका आयुुष गुरुङ पनि १२ कक्षा उत्तीर्ण गरी कला सिक्न एकेडेमी पुुगेका छन् । कला सिर्जनाको आफ्नै विशिष्ट महत्व रहेको बताउँदै उनले यस क्षेत्रमा केही गरौँ भन्ने भावनाका साथ आफू तालिम लिन आएको बताए । ‘खासगरी म डिजाइनर हो, म डिजाइनमा आर्टको क्रियटीभिटी युज गर्न चाहन्छुु’, आयुषले भने, ‘मेरो कलाप्रतिको रुचिमा पारिवारको राम्रै साथ र सहयोग छ ।’

पछिल्लो समयमा कला क्षेत्रमा युवाको आकर्षण बढिरहेको नगेन आर्ट एकेडेमीका सञ्चालक ज्योति हमालले बताए । कला क्षेत्रमा केही जान्ने र सिक्ने चाहना भएका व्यक्तिलाई लक्ष्य गरी एकेडेमी सञ्चालनमा ल्याइएको उल्लेख गर्दै उनले एकेडेमी सञ्चालनको एक वर्षे समयावधिमा विभिन्न ७७ युवाले कला सिकेर गएको जानकारी दिए । एकेडेमीबाट एक हप्तादेखि तीन वर्षसम्मका विभिन्न कोर्षका पठनपाठन गराउने गरिएको छ ।

पछिल्ला वर्षमा कला सिक्न युवाहरूको आकर्षण बढिरहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ सदस्य नगेन सिंहले बताए । कला क्षेत्रको औपचारिक पठनपाठनका लागि त्रिभुवन विश्वविद्यालयअन्तर्गत ललितकला क्याम्पसमा स्नातकोत्तरसम्मको पढाइ हुने गरेको जानकारी दिँदै उनले काठमाडौँकै सिर्जना कलेज, काठमाडौँ विश्वविद्यालयलगायत शैक्षिक संस्थामा पनि नियमितरुपमा पठनपाठन भइरहेको बताए ।

राष्ट्रिय चित्रकला प्रदर्शनी

कला क्षेत्रमा युवाको आकर्षण बढिरहेका अवस्थामा दिगो शान्ति, पर्यटन र कला क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ नगेन आर्ट एकेडेमीले पोखरामा एक महिने तेस्रो राष्ट्रिय चित्रकला प्रदर्शनी आयोजना गरेकोे छ । एकेडेमीकै प्रदर्शनी कक्षमा देशभरका एक सय ४० कलाकारका कला प्रदर्शनीमा राखिएको सञ्चालक ज्योति हमालले जानकारी दिए । देशका विभिन्न स्थानमा रहेका वरिष्ठ कलाकारदेखि नवोदित युवा कलाकार ५७ जनाले एउटै ब्यानरमा तयार गरेको कला प्रदर्शनीको महत्वपूर्ण आकर्षण बनेको छ । एकेडेमीको प्रवेशद्वारमा राखिएको उक्त कलाको मूल्य रु डेढ करोड  राखिएको छ । 

बीस मिटर लामो ब्यानरमा रहेको उक्त कला हालसम्म देशभरमा प्रदर्शनीमा राखिएमध्ये सबैभन्दा ठूलो भएको जिकिर गरिएको छ । प्रदर्शनीमा राखिएका कलाको मूल्य रु एक हजारदेखि डेढ करोडसम्म रहेको सञ्चालक हमालले जानकारी दिए । ‘समाज एवं राष्ट्रमा अस्थिरता र अराजकता बढिरहेका अवस्थामा हामीले दिगो शान्ति, पर्यटन र कला क्षेत्रको प्रवद्र्धन गर्नेे उद्देश्यका साथ प्रदर्शनी राखेका हौँ’, उनले भने, ‘पछिल्ला समयमा कला प्रति बढ्दै गएको युवा आकर्षणलाई अझै बढाउनका लागि यस्ता प्रदर्शनीले विशेष महत्व राख्ने हाम्रो विश्वास छ ।’

कलामा रुचि राख्ने पुरानो पुस्तादेखि नयाँ पुस्ताका व्यक्ति, विद्यालयका शिक्षक तथा विद्यार्थी आदिका लागि प्रदर्शनी बहुुउपयोगी बन्ने विश्वास लिइएको सञ्चालक हमालले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७