बागलुङका वीरबहादुरलाई जब गोठभित्रै फोन आयो…


२० आश्विन २०८०, शनिबार
mobile tower
फाइल फोटो

– डम्बर बुढामगर
बागलुङ । फोन गर्न दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्नुपथ्र्यो, अहिले त घरगोठभित्रै फोनले काम गर्न थालेको छ, हामीलाई जुनी फेरिएझैं लागेको छ,’ सात वर्षयता मोबाइल चलाइरहेका निसीखोला गाउँपालिका– ५, निसेलढोरका वीरबहादुर घर्तीमगरले भने ।

यसअघि निसेलढोरमा उनले कहिल्यै सहजै फोन गर्न पाएनन् । आफन्तलाई फोन गर्नुपर्दा दुई घण्टा परको अग्लो डाँडामा पुग्नुपर्थ्यो । आइतबार दिउँसो एक्कासि गोठमै बसेका बेला मोबाइलमा म्यासेज आयो । फेरि केही बेरमा बेसीबाट आफन्तले फोन गरे । गोठभित्रै फोन आएपछि वीरबहादुर चकित भए । एकैछिनमा खुसी हुँदै बाहिर निस्केर आकाशतिर हेरे ।

नेटवर्कले काम गरेपछि उनले सम्झिए, गाउँमाथिको डाँडामा नेपाल टेलिकमको टावर बन्दै छ भन्ने । सूचना र प्रविधिले फड्को मारिसक्दा पनि निसेलढोरमा अहिलेसम्म फोन गर्नका लागि टावर बनेको थिएन । विद्युत समेत नपुगेको यस ठाउँमा टेलिकमको टावरले काम गर्न थालेपछि स्थानीयवासीमा खुसी छाएको छ । अब फोन गर्न २÷३ घण्टा धाएर ढोरपाटन पुग्न नपर्ने घर्तीमगरले सुनाए । विद्युत् र टावर विस्तार नहुँदा यहाँका सयौँ नागरिक वर्षौंदेखि सूचना र सञ्चारको पहुँचभन्दा टाढा रहनुपरेको उनको भनाइ छ ।

घर्ती मगरले भने, ‘मोबाइल भएर के गर्ने निसेलढोरमा बिजुली आएको छैन, टावर बल्ल बनेको छ, बेँसी झर्दा चार्ज गरेर ल्याउने, काम पर्दा फोन गर्ने र त्यसपछि मोबाइल अफ गरेर राख्नुपर्ला । अब त गोठभित्रैबाट फोन गर्न पाइने भयो, धेरै खुसी लागेको छ, संसार जितेजस्तो भयो । पहिलो दिन टावरले काम गर्दा मोबाइल खुल्ला नै रै’छ, घण्टी बज्दै म्यासेज आउँदा दङ्ग परेँ । माथि डाँडामा टावर बन्दै छ भन्ने त सुनेको थिएँ तर मैले बिर्सिएको रै’छु, पछि मोबाइल हेर्दा त टावरको चिन्न देखिएको रहेछ । अब यस ठाउँका मान्छेले पनि बसेकै ठाउँबाट फोन गर्न पाउने भए ।’

नेपाल टेलिकमले निसीखोला गाउँपालिका– ५ को ऐँसेलुधारामा टावर निर्माण गरेर सेवा सुरु गरेको छ । ३ हजार ७३० मिटरको उचाइमा निर्माण भएको टावर सोलारबाट सञ्चालन गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीमगरले भौगोलिक विकटताका कारण सूचना र प्रविधिको विकास भइसक्दा पनि यहाँका जनता निकै समस्या भोग्नुपरेकाले सञ्चारसँग जोड्न टावर निर्माण गरिएको बताए ।

निसेलढोरमा एउटा विद्यालय, सामुदायिक स्वास्थ्य इकाइ र नेपाली सेनाको क्याम्प छ । नेटवर्क नहुँदा सूचना आदानप्रदानमा निकै कठिनाइ हुँदै आएकोमा अब धेरै सहज भएको उनले बताए । ऐँसेलुधारामा टावर सञ्चालनमा आउनुपूर्व निसेलढोरका बासिन्दाहरूले करिब २ घण्टाको यात्रा गरेर अग्लो डाँडामा पुगी फोन गर्ने गरेको उपाध्यक्ष घर्तीमगरले भनाइ छ । सडक सञ्जालले जोडिए पनि यहाँ अहिलेसम्म विद्युत् पुगेको छैन ।

यहाँ निर्माण गरिएको टावरले निसीखोलाको निसेलढोरसँगै ढोरपाटन नगरपालिकाको काँग, मस, बिजा, पूर्वी रुकुमको भूमे गाउँपालिका, पुथा उत्तरगङ्गालगायत ठाउँमा राम्रोसँग काम गर्न थालेको नेपाल टेलिकम बागलुङ शाखाका प्रमुख केशव शर्माले बताए । हाल टुजी सेवा सञ्चालन गरिएको छ । यसले धेरै ठाउँमा ‘कभरेज’ गरेको छ । अब यस टावरबाट फोरजी सेवासमेत सञ्चालन गरिने उनको भनाइ छ ।

प्रमुख शर्माले भने, ’टावर निर्माण गरेको ठाउँ निकै उच्च स्थानमा छ । अहिले सोलार सिस्टम प्रयोगमा ल्याएका छौँ । यसलाई थप व्यवस्थित गर्दै फोरजी सेवा सञ्चालनका लागि तयारी गरिरहेका छौँ । टावरले काम गर्न थालेपछि यस क्षेत्रका धेरै नागरिक उत्साहित भएको हामीले पायौँ । पहिले सूचना आदानप्रदान गर्न निकै गाह्रो रहेछ । अब सहज हुन्छ तर कहिलेकाहीँ मौसमका कारण अवरुद्ध हुनेबाहेक अन्य बेला निरन्तर सेवा सञ्चालन हुनेछ ।’

निसेलढोरमा गत वर्षसम्म स्वास्थ्य संस्था थिएन । यसै वर्षदेखि निसीखोला गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेर सेवा दिन थालेको छ । यहाँका अधिकांश नागरिक हिउँदको समय निसी (औल) र बर्खाको समय निसेलढोरमा बस्दै आएका थिए । सडकले नजोडिँदासम्म घुम्ती बसाइँ गर्ने स्थानीयवासी सडक पुगेपछि स्थायी रूपमा बस्न थालेका छन् । उनीहरूको निसीमा पनि घर छ । पशुपालन र कृषि मुख्य पेसा बनाएका त्यहाँका किसानले स्याउ, आलु, सिमीलगायत उत्पादन गर्छन् । केही वर्षयता सडकले निसेलढोर जोडेपछि बजारीकरणमा केही सहजता ल्याएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७